२०८१ फागुन २५ काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाबाट अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रा सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चिनिया नागरिक २२ वर्षीय MEI WENHAO र काठमाडौं महानगरपालिका-१० घर भएका ३२ वर्षीय सनिम राज ढकाल रहेका छन् ।
फ्लाई दुबईको उडानद्वारा काठमाडौंबाट युएई जान लागेका MEI WENHAO लाई १० लाख ४२ हजार जापानिज यन र ५ सय ८० अमेरिकी डलर तथा एयर इन्डियाको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका सनिम राजलाई ७ हजार ५ सय अमेरिकी डलर सहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।

खोटाङको जन्तेढुङगा गाउँपालिका-३ छिमाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ १ किलो ८ सय ६० ग्राम सहित सोही गाउँपालिका-४ खाप्तिङ घर भई उदयपुर बेलका नगरपालिका-१ आम्बासी बस्ने ४५ वर्षीय राम कुमार राई समेत ४ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले खाप्तिङबाट बंसिलातर्फ जाँदै गरेको प्र-१-०४-००१ ह ०२७८ नम्बरको अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापाको भद्रपुर नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ मिलिग्राम सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-१० हिमालय टोल बस्ने २६ वर्षीय प्रकाश यादव र सोही नगरपालिका-१० शान्तिचोक बस्ने ३२ वर्षीय साकिर महमद रहेका छन् । प्रहरी बिट मेचीपुल र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ट्याब्लेट सहित कास्की पोखरा महानगरपालिका-४ घर भएका २३ वर्षीय अनमोल रिमाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको बा.५ ख ६९६ नम्बरको बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो  ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरीले समाचार लेखेको छ।