२०८१ फागुन १३ काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय द्वारा कुलमान घिसिङलाई स्पष्टीकरण सोधिएको छ। मन्त्रालयले सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ:
´तपाईलाई माननीय मन्त्रीस्तरवाट निर्णय भै यस मन्त्रालयको प.सं.०८१।०८२ च.नं.४५२ मिति २०८१।०९।२२ को पत्रबाट स्पष्टीकरण माग गरिएको सम्बन्धमा तपाईले प.सं. ०८१।०८२ च.नं. ७६१ मिति २०८१।०९।२८ मा पेस गर्नुभएको स्पष्टीकरण वस्तुगत र चित्तबुझ्दो नभएको हुँदा मन्त्रालय र तपाईबीच मिति २०७८।१०।०५ मा भएको कार्यसम्पादन सम्झौताको व्यवस्था बमोजिम तथा नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधन सहित) को विनियम २२ को खण्ड (क) बमोजिम नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट किन नहटाउने? तपाईले कार्यकारी निर्देशकको हैसियतले गरेका देहायका विषयमा समेत २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन नेपाल सरकार (मन्त्रीस्तर) को मिति २०८१।११।१३ को निर्णयानुसार जानकारी गराइन्छ।
१. यहि १२ फेब्रुअरी २०२५ मा भारतको नयाँ दिल्लीमा भएको नेपाल-भारत द्विपक्षीय विद्युत विनिमय समितिको बैठकमा नेपाली प्रतिनिधिमण्डलको टोलीनेताको हैसियतमा त्यसतर्फ जाँदा कुन निकायको स्वीकृति लिएर जानुभएको हो? नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ को अनुसूची १ को विषयसंख्या २० र २३ अनुसार नेपाल सरकार, मन्त्रिपरिषद्मा पेश गर्नुपर्ने विषयमा तपाईले अर्थ मन्त्रालयको सहमति नलिई आर्थिक दायित्व बढ्ने गरी द्विपक्षीय वार्ताको माध्यमबाट तयार भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने अख्तियारी कसरी प्राप्त गर्नुभएको हो?
२. नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको अध्यक्षमा यस मन्त्रालयका माननीय मन्त्री श्री दिपक खड्काज्यू नियुक्त भएको मितिबाट हालसम्म तपाई कतिपल्ट आन्तरिक भ्रमण काज, विदा वा अन्तर्राष्ट्रिय भ्रमण काजमा जानु भएको छ? कुन कुन आन्तरिक भ्रमण काज वा विदामा जाँदा नेपाल विद्युत प्राधिकरण, कार्यकारी निर्देशकको सेवाको शर्त तथा सुविधा सम्बन्धी विनियमावली, २०६१ (संशोधन सहित) को विनियम १८ बमोजिम अध्यक्षको स्वीकृति लिएर जानुभएको छ? कुन कुन अन्तर्राष्ट्रिय भ्रमण काजमा जादा सोही विनियमावलीको विनियम ३२ बमोजिम सञ्चालक समितिको स्वीकृति लिनु भएको छ? स्वीकृति लिनुपर्ने विषयमा किन स्वीकृति नलिनुभएको हो` ? (क्रान्ति)