२०८१ फागुन १३ काठमाडौ । उर्जामन्त्री, सचिव र विद्युत नियमन आयोग विरुद्ध अख्तियारमा उजुरी परेको छ । उजुरी समृद्धिका लागि सुशासन अभियानका संयोजक पवित्रमणी शर्मा हस्ताक्षर गरेको उजुरी पत्र दर्ता भएको छ । उनले दर्ता गरेको उजुरी पत्रमा भनिएको छ: ´उपरोक्त सम्बन्धमा उर्जा मन्त्रालय, विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणबीच लामो समयदेखि चलेको ‘विद्युत महसुल सम्बन्धि विवाद’को विषयमा अख्तियार जानकार नै छ । विद्युत प्राधिकरणको काम विद्युत महसुल उठाउने हो। विद्युत महसुलं नै नउठा भन्दै उर्जा मन्त्रालयबाट पटक पटक निर्देशन तथा कथित छानविन आयोग निर्माण गरि महसुल उठाउन रोक लगाइएको विषयबाट आयोग वेखबर छैन् ।

पछिल्लो समय विद्युत नियमन आयोगलाई हतियार बनाएर पटक-पटक विद्युत प्राधिकरणलाई निर्देशन दिने काम भएको देखिन्छ । विद्युत नियमन आयोगले पनि विद्युत बक्यौता रकमको ५ प्रतिशतका दरले हुन आउने रकम शुल्क वापत लिई प्राधिकरणलाई पत्र लेख्नु पर्ने प्रावधान विप्ररित ‘विद्युत नियमन आयोगका अध्यक्ष राम प्रसाद धिताल’ले उद्योगीसंग नीजि ‘बेनिफिट’ लिई पटक पटक पत्राचार गरेको देखिन्छ । तसर्थ, यसरी अनियमितता गर्ने उर्जा मन्त्री दिपक खड्‌का, विद्युत नियमन आयोगका अध्यक्ष राम प्रसाद धिताल, उर्जा सचिव सुरेश आचार्य (जसले दुधकोशी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत विमल गुरुङलाई हटाउन अख्तियार क्षेत्र बाहिर गएर सचिव स्तरिय निर्णय लिएका छन् ।) लगायतलाई छानबिन गरी आवश्यक कारवाहीका लागि सविनय अनुरोध गरिन्छ ।

निवेदन साथ उर्जा मन्त्रालयले विद्युत नियमन आयोग, विद्युत नियमन आयोगले नेपाल विद्युत प्राधिकरण र उर्जा मन्त्रालयले सिधै नेपाल विद्युत प्राधिकरणलाई पटक-पटक काटेका पत्र समेत यसै निवेदन साथ संलग्न राखि उजुरी गरिएको छ । आशा सुशासन कायम गर्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो निवेदन र यो विषयमा तत्कालै गम्भिर चासो लिनेछ`। (क्रान्ति)