२०८० फागुन १ काठमाडौ । सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो BR 11X 3429 गाडीमा एक करोड ८२ लाख ५१ हजार नक्कली नोट फेला पारेको छ । फेला पारेको नोट एक हजार दरको रहेको प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार सुपौलस्थित बिरपुर बस्ने २२ बर्षीय छोटु भनिने महम्मद शैयाद रहेको जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीले जनाएको छ ।

सुनसरी इनरुवा नगरपालिका ४ को सुनसरी खोलाको पुल नजिक प्रहरीले चेकजांच गर्दा नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

नक्कली नोट सहित पक्राउ परेकोलाई प्रहरीले हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ भने अरु को को नक्कली नोट बनाउने कार्यमा संलग्न छन भन्ने बारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।