नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ज्ञान, विज्ञान, दर्शनलगायत सबै विषयको मूल स्रोत समाज नै भएको बताउनुभएको छ ।

उहाँले पूर्वीय योगदर्शनलाई पश्चिमाले समेत व्यापक बनाइसकेकाले यसको व्यापक खोजअनुसन्धान गर्दै थप सामाजिकीकरण गर्नुपर्ने बताउनुभयो । प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागले डा टिपी धमलाद्वारा लिखित कार्यपत्र ‘योगदर्शनको सामाजिक प्रभाव’ विषयक विचार गोष्ठीको उद्घाटन गर्दै उहाँले सो विचार व्यक्त गर्नुभएको हो ।

प्रतिष्ठानका सदस्यसचिव डा धनप्रसाद सुवेदीले पूर्वीयदर्शनमा योगको सामाजिक प्रभावको व्यापकतालाई सुव्यवस्थित गर्नु सबैको दायित्व भएको बताउनुभयो ।

प्राज्ञ परिषद् सदस्य तथा सामाजिकशास्त्र विभाग प्रमुख डा कौशिला रिसालले योगको सैद्धान्तिक, सामाजिक र व्यावहारिक पक्षलाई आत्मसात् गर्दै स्वच्छ र स्वस्थ जीवनयापनका लागि योगदर्शनको शिक्षालाई व्यापक तुल्याउन सक्नुपर्नेमा जोड दिनुभयो । सदस्य धर्मेश पोखरेलले योगदर्शन र साधना आत्मिक चिन्तन भएको र यसको सामाजिक आयामका बारेमा व्यापक छलफल हुनुपर्ने बताउनुभयो ।

कार्यपत्र प्रस्तुत गर्दै डा धमलाले योगले चित्तका वृत्ति, मनका गुण, योगका बिघ्न, क्लेश आदिको समाधान गरी चेतना विज्ञानको कार्य गर्ने बताउनुभयो । “यसले अज्ञानता हटाई जीवनलाई दिव्य बनाउँछ, यी सम्पूर्ण पक्षको उपलब्धि हासिल गर्नका लागि योगको आवश्यकता पर्दछ, जसले स्वस्थ शारीरिक, स्वस्थ मानसिकता, आनन्दानुभूति मानव, महामानव र दिव्यमानव बनाउन सक्छ”, उहाँले भन्नुभयो । रासस