निर्माणाधीन महाकाली सिँचाइ आयोजना तेस्रो चरणअन्तर्गतको मूल नहर परीक्षणका लागि पानी छाडिएको छ । आज टनकपुर ब्यारेजबाट महाकाली सिँचाइ तेस्रो चरणको मूल नहर परीक्षणका लागि पानी छाडिएको आयोजनाका निर्देशक रणबहादुर बमले जानकारी दिनुभयो ।
भीमदत्त नगरपालिकाको ब्रह्मदेवबाट शुक्लाफाँटा नगरपालिकाको फुलेली घरकटुवा खोलासम्म पानी छाडेर मूल नहर परीक्षण गरिने उहाँले जानकारी दिनुभयो । “ब्रह्मदेवबाट २८ किलोमिटर फुलेलीसम्मको मूल नहरमा पानी छाडिएको छ, एक सातासम्म पानी छाडेर मूल नहर परीक्षण गरिनेछ”, निर्देशक बमले भन्नुभयो ।
महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणअन्तर्गत ब्रह्मदेवबाट फुलेलीसम्म २८ किलोमिटर मूल नहर निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भएको उक्त मूल नहरमा पानी छाडेर परीक्षण गर्ने कार्य चलिरहेकाले यस अवधिमा नहर छेउछाउमा आफ्ना बालबच्चा र चौपाया नछाड्न आयोजनाले आग्रह गरेको छ ।
राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने महाकाली सिँचाइ आयोजना तेस्रो चरणको ब्रह्मदेवबाट बगुनखोलासम्म १९ किलोमिटर मूल नहरमा गत वर्ष परीक्षण गरिएको थियो ।
नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपाली भूमिसम्म भारतले निर्माण गर्नुपर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भइसकेको छ । उहाँका अनुसार अहिले मूल नहर निर्माण भएको क्षेत्रमा शाखा नहर निर्माणको काम भइरहेको छ । “बाइस शाखा नहरमध्ये दुईको निर्माणको काम सकिएको छ”, उहाँले भन्नुभयो, “अन्यको काम भइरहेको छ ।रासस
