प्रमुख राजनीतिक दलका नेताहरुले पूर्वाग्रह नराखी मुलुकको समृद्धिका खातिर साझा ‘एजेन्डा’मा आउन सके सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको भविष्य उज्ज्वल रहेको प्रतिक्रिया दिनुभएको छ ।

गणतन्त्र दिवसका सन्दर्भमा राससको जिज्ञासामा उहाँहरुले देश र जनताका हित विपरीत दलगत स्वार्थका लागि आरोप–प्रत्यारोप गर्ने प्रवृत्ति अन्त्य गरी विकास र समृद्धिको अभियानमा जुटेर व्यवस्थालाई बलियो बनाउन सकिएमा सबै नेपालीको भविष्य सुन्दर रहने प्रतिक्रिया दिनुभयो ।

नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्रबहादुर शाहीले अहिले राष्ट्रिय सहमतिकै सरकार भएकाले ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त लोकतन्त्रलाई सुदृढीकरण गर्न राष्ट्रिय एकताको साझा अवधारणा बनाए राष्ट्रनिर्माणको महाअभियानमा जुट्न सबै राजनीतिक दललाई आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, “यदि त्यो हुन सकेन भने पनि प्रतिपक्षले रचनात्मक भूमिका निर्वाह गर्ने तथा समृद्धि र सुशासनको सवालमा एक ठाउँमा उभिँदै आउनसक्ने चुनौतीको सामना गर्नुपर्छ ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको शासन प्रणाली कार्यान्वयनकै चरणमा रहेकाले सीमित स्रोतसाधनका कारण जनताको विकास, समाजिक न्यायसहित सुशासन र आर्थिक समृद्धिको तीव्र आकाङ्क्षा क्षणमै पूरा गर्न चुनौती भइरहेको बताउँदै उहाँले व्यवस्था परिवर्तन भएकाले पहिलो चरणमा कानुनी र संरचनागत व्यवस्था मिलाउने विषय नै अहिलेको प्राथमिकता भएको उल्लेख गर्नुभयो ।रासस