म्याग्दीको नारच्याङस्थित नीलगिरि खोलामा ११० मेगावाट क्षमताका दुई वटा जलविद्युत आयोजना निर्माणको ८० प्रतिशत काम सकिएको छ ।

अन्नपूर्ण र नीलगिरि हिमालबाट बगेर आउने नीलगिरि खोलामा ३८ मेगावाट क्षमताको नीलगिरि पहिलो र ७१ मेगावाट क्षमताको नीलगिरि दोस्रो जलविद्युत आयोजना निर्माणाधिन छन् । विस २०७६ देखि शुरु भएको दुई वटै आयोजनाको प्रर्वद्धक कम्पनी नीलगिरि हाइड्रोपावरले संरचना निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ ।

नीलगिरि हाइड्रोपावरका ईन्जिनियर रत्न बमजन तामाङले सुरुङ, विद्युतगृह, बाँध र प्रशारण लाईन निर्माणलाई पूर्णता दिन धमाधम काम भइरहेको जानकारी दिनुभयो । “दुवै आयोजनाको बाँधस्थल, सुरुङ खन्ने र विद्युतगृह निर्माण काम सकिएको छ,” उहाँले भन्नुभयो “भौतिक संरचनालाई अन्तिम रुप दिनेसँगै इलोक्ट्रोमेकानिकलको काममा केन्द्रित भएका छौँ ।”

नीलगिरि पहिलोको दुई हजार मिटर र दोस्रोको चार हजार दुई सय मिटर सुरुङ खन्ने काम सकिएर ढलान भइरहेको छ । पेनस्टक टनेल खन्ने काम सकिएर पहिलोको आठ सय मिटर र दोस्रोको १५ सय मिटर पेनस्टक पाइप जडानको काम थालिएको तामाङले जानकारी दिनुभयो ।

नीलगिरि पहिलोको विद्युतगृहबाट निस्कने पानीलाई बाँध बनाएर नीलगिरि क्यासकेडको सुरुङमा हाल्न मिल्ने गरी संरचना निर्माण गरिएको छ । नीलगिरि पहिलोको हुमखोलामा बाँध र छोटेपामा विद्युतगृह निर्माण गरिएको छ । रासस