तनहुँ जिल्लामा रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित भएका छन् । व्यास नगरपालिका–१ का मीनबहादुर दरैले मल आएपछि यसपाली त बालीनाली राम्रो हुने आशा जागेको बताउनुभयो । “मल आएको छ भन्ने थाहा पाएपछि हतारमा अन्य काम छाडेर मल लिन दौडिएँ, कम नै भए पनि मल पाएपछि थोरै थोरै गरी हाल्ने र फसल लाग्ने बेलाको धान, मकैमा राम्रो फसल लाग्ने आशा जागेको छ”, उहाँले भन्नुभयो ।
नवीन उपभोक्ता सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रासायनिक मलको सुपथमूल्य पसलमा लाइनमा बसी मीनबहादुरले झैँ अन्य किसानले पनि मल लिएका छन् । मलको अभावले आत्तिएका किसानले कमै मात्रामा मल पाउँदा पनि राहत मिलेको बताए ।

कृषि सामग्री कम्पनी लिमिटेड तनहुँ शाखामा केही दिन अगाडि मात्रै अनुदानको एक हजार तीन सय ३१ मेट्रिकटन रासायनिक मल आएपछि वितरण थालिएको कम्पनीले जनाएको छ । जिल्लामा आपूर्ति भएको रासायनिक मल पालिकाले सिफारिस गरेको सहकारीमार्फत बिक्रीका लागि केही स्थानमा पठाइसकिएको छ भने केहीमा लिन आउने क्रम जारी रहेको लिमिटेडका शाखा प्रमुख दिनेश शर्माले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षको जेठ ९ गतेसम्ममा जिल्लामा आठ सय २७ मेट्रिकटन युरिया, चार सय ८३ मेट्रिकटन डिएपी र ६८ मेट्रिकटन पोटास बिक्री वितरणका लागि पठाइएको उहाँले बताउनुभयो । हालसम्म कम्पनीले तनहुँ र लमजुङ जिल्लामा एक हजार तीन सय ७८ मेट्रिकटन रासायनिक मल बिक्रीका लागि पठाइसकेको छ । रासस