तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण गरिएको केबुलकार डेढ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा आउने भएको छ । केबुलकारको सम्पूर्ण काम सकिएको र अब परीक्षण सुरुआत भएको बन्दीपुर केबुलकार एन्ड टुरिजम लिमिटेडले जनाएको छ ।

लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डेढ महिनाभित्र व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीसहित परीक्षणको कामलाई अगाडि बढाइएको जानकारी दिनुभयो । शर्माले लट्ठाको भार परीक्षणको काम सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “टावर जडानको काम सकियो, अब हामीमा ढिलोमा डेढ महिनाभित्र केबुलकार सञ्चालन गर्छौं, अब केबुलकारको परीक्षण सुरु गरेका छौँ ।”

उहाँका अनुसार भार परीक्षणका लागि १५ दिन सामान बोक्ने डब्बा सञ्चालन गरिनेछ । उहाँले भन्नुभयो, “उक्त डब्बामा ढुङ्गा पठाएर भार परीक्षणको काम भइरहेको छ, यसका लागि १०÷१५ दिन त्यसको परीक्षण हुन्छ ।” त्यसपछि मान्छे बोक्ने डब्बाको परीक्षण हुनेछ । त्यसको अवधि पनि १५ दिनको रहनेछ । लगत्तै आकर्षक क्याबिनको परीक्षण गर्ने तयारी गरिएको छ । “सबै परीक्षण सकिएर ४५ दिनपछि प्रमाणपत्र पाएर व्यावसायिक रुपमा सञ्चालनमा ल्याउँछौँ”, उहाँले भन्नुभयो ।

तीन चरणका काम सम्पन्नपश्चात् अन्तर्राष्ट्रिय प्रविधि तथा सुरक्षा गुणस्तर परीक्षण प्रमाणपत्र र अन्य सबै खालका सुरक्षा एवं सम्पन्न सम्बन्धित प्रमाणपत्र प्राप्त गरिने लिमिटेडका गुणस्तर एवं प्रविधि निर्देशक सुप्रियो मण्डलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुरक्षा र गुणस्तर पहिलो भन्ने कम्पनीको न्यूनतम मान्यता रहेकाले हतारमा प्रतिस्पर्धाका लागि मात्र केबुलकारलाई व्यावसायिक सञ्चालनमा ल्याउँदैनौँ ।रासस