बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाका वडा अध्यक्ष कुलबहादुर बिकलाई आजभोलि आलु भित्र््याउन भ्याइनभ्याई छ । उहाँ बिहानबेलुका बारीमा लगाएको आलु उकेर्नुहुन्छ, दिनभरी वडा कार्यालयबाट जनताको सेवा गर्नुहुन्छ ।

उहाँ जस्तै वडाका किसानले बारीमा लगाएको बर्खे आलुको फसल लिने बेला भएको छ । धम्जाका किसान आलुको व्यवसायीक खेती गर्छन् । यहाँको आलु स्थानीय र बाह्य बजारमा लोकप्रिय छ । हिउँदमा बारीमा आलु लगाउने र बर्खामा कोदो, मकै लगाउने किसानको परम्परा हो । तर आजभोली किसानको परम्परा फेरिएको छ ।

आलु निकालेपछि मकै र कोदोले भरिने बारी आजभोली नगदेबालीले भरिन्छन् । चिसो मौसम भएकाले यहाँ खाद्यान्न बाली ढिलो पाक्छ । दुई खेती उब्जाउन कठीन हुने बारीमा नगदेबाली खेती थालेपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।

“पहिले बारीमा आलुपछि मकै लगाइन्थ्यो, अहिले त बन्दाका बिरुवा तयार भएका छन्, सिमीको बीउ किनेर राखिएको छ”, वडाध्यक्ष कुलबहादुर बिकले भन्नुभयो, “अहिले लगाएको बन्दा असोजमा तयार हुन्छ, बजार मूल्य राम्रो पाउँछ ।” असोजमा बन्दा र सिमीको फसल लिएपछि पुनःआलु लगाउन बारी तयार हुने उहाँले बताउनुभयो ।

यहाँका किसानले आलु साटेर खाद्यान्नको जोहो गर्थे । आजभोली आलुको विक्रीबाट हुने आम्दानीने घर खर्च चल्छ । सिमी र बन्दा, काउलीको विक्रीबाट हुने आम्दानीले खाद्यान्न पुग्छ । “हामीले नगदेबाली लगाउन थालेपछि आम्दानी हुन थालेको छ,” किसान ज्ञानकुमार छन्त्यालले भन्नुभयो, “असिनाले बेला बेला सताउँछ तर मकै, कोदो लगाउँदाभन्दा नगदेबाली लगाउदा लगानी र आम्दानीमा धेरै फरक परेको छ ।रासस