श्रीलङ्काको नौसेनाले गत हप्ता ३९ जना चालक दलका सदस्यसहित डुबेको चिनियाँ डुङ्गाभित्र १४ जनाको शव फेला पारेको जनाएको छ ।

मे १६ मा दुर्घटनाग्रस्त भएको उक्त डुङ्गामा कोही पनि जीवित नरहेको चिनियाँ सरकारको प्रारम्भिक अनुसन्धानले निष्कर्ष निकालेको एक दिनपछि उनीहरूलाई मृत अवस्थामा डुङ्गामा भेटिएको हो ।

मोटरबाट चल्ने लु पेङ युआन यु–०२८ डुङ्गामा १७ जना चिनियाँ, १७ जना इन्डोनेसियाली र पाँच जना फिलिपिनी सवार थिए र पर्थबाट पाँच हजार किलोमिटर पश्चिममा दुर्घटनाग्रस्त भएको थियो ।

फिलिपिन्सको विदेश मन्त्रालयले उक्त डुङ्गा मे १८ मा श्रीलङ्काबाट करिब एक हजार किलोमिटर दक्षिणमा रहेको तर खराब मौसमका कारण उद्धार कार्यमा बाधा पुगेको जनाएको थियो ।

श्रीलङ्काको नौसेनाले आफ्ना गोताखोरहरूले मङ्गलबार दुई जनाको शव पानीमा फेला पारेको र थप १२ जनालाई डुङ्गाभित्र भेटेको पुष्टि गरेका छन् ।

“सीमित सुरक्षात्मक कवचसाथ दूषित पानीभित्रबाट शब निकाल्दा उत्पन्न हुने सम्भावित स्वास्थ्य खतराका कारण ती शवहरू पुनः प्राप्त गर्नु अत्यन्त खतरनाक हुने निश्चित गरिएको छ,” नौसेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय खोज तथा उद्धार कार्यमा सघाउन तीनवटा हवाई जहाज र चारवटा पानीजहाज पठाएको थियो ।

चिनियाँ यातायात मन्त्रालयका अनुसार उद्धारकर्मीहरूले खोजका लागी करिब ६४,००० वर्ग किलोमिटर (१८,७०० वर्ग नटिकल माइल) क्षेत्रमा यात्रा गरेका थिए ।
गत हप्ता फेबियन चक्रवातले सात मिटर (२३ फिट) सम्मको छाल र १२० किलोमिटर प्रतिघण्टा (७५ माइल प्रतिघण्टा) सम्मको हावा चलेपछि माछा मार्ने उक्त डुङ्गाले पहिलो पटक सङ्कटको सङ्केत पठाएको थियो ।

क्यानबेरास्थित ज्वाइन्ट रेस्क्यु कोअर्डिनेसन सेन्टर (जेआरसीसी) ले बाँच्नका लागि ‘चुनौतीपूर्ण’ अवस्थाको चेतावनी दिएपछि खराब मौसमका कारण उद्धार कार्य रोकिएको छ ।

उक्त पानीजहाज चीनको प्रमुख सरकारी माछा मार्ने कम्पनी पेन्ग्लई जिङलु फिशरी कम्पनीको स्वामित्वमा थियो ।रासस