पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का प्रमुख नेता शाह महमुद कुरेशी, जमशेद चीमा र उहाँकी पत्नी मुसरत चीमालाई बुधबार नजरबन्दमा राखिएको छ ।

पाकिस्तानी समाचार च्यानल एआरवाई न्यूजका अनुसार रावलपिण्डीका आयुक्तले पूर्व प्रधानमन्त्री इमरान खानको पार्टीका नेताहरूलाई नजरबन्दमा राख्न आदेश जारी गर्नुभएको हो । उहाँहरूलाई मेन्टेनेन्स अफ पब्लिक अर्डर (एमपीओ) को दफा ३ अन्तर्गत नजरबन्दमा राखिएको छ । उहाँहरूलाई १५ दिनका लागि नजरबन्दमा राखिएको छ ।

पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) का उपाध्यक्ष समेत रहेका कुरेशीलाई रावलपिण्डीको अडियाला जेलबाट रिहा भएको केही मिनेटमै पुनः पक्राउ गरिएको पाकिस्तानस्थित जियो न्यूजले जनाएको छ ।

पार्टी नेता मुसरत जमशेद चीमालाइ रिहाईपछि पुनः तुरून्त गिरफ्तार गरिएको थियो । पक्राउ परेपछि कुरेशीले जेलबाहिर बोल्दै आफू अझै पनि पीटीआईको हिस्सा रहेको र रहिरहने बताउनुभएको थियो ।

त्यसपछि पूर्वमन्त्रीलाई प्रहरीले अज्ञात स्थानमा लगेको जिओ न्यूजले जनाएको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष शिरीन मजारीले पीटीआई छोड्ने र राजनीति छोड्ने घोषणा गरेको केही घण्टापछि उनले पार्टीमा रहने बताउनुभएको हो ।

उनले आन्दोलन सिर्जना नगर्ने र मजदुरलाई भड्काउने काम नगर्ने प्रतिबद्धता जनाएपछि इस्लामाबाद उच्च अदालतले मङ्गलबार कुरेशीलाई रिहा गर्न आदेश दिएको थियो ।

पूर्व प्रधानमन्त्री इमरान खानलाई गत मे ९ मा अल–कादिर ट्रस्ट प्रकरणमा पक्राउ गरेपछि पीटीआईका कार्यकर्ताले हिंसात्मक प्रदर्शन सुरु गरेको २४ घण्टाभित्र इस्लामाबादबाट पक्राउ परेका शीर्ष नेतामध्ये कुरेशी पनि एक हुनुहुन्थ्यो ।

पञ्जाब र खैबर पख्तुनख्वामा भएको दङ्गा र आगजनीको घटनामा पूर्व विदेशमन्त्रीलाई प्रहरीले पक्राउ गरेको थियो । रासस