देशको अर्थतन्त्र खतम भयो भन्ने निष्कर्ष सामान्य विषय होइन । यसले देशको आर्थिक एवं व्यावसायिक क्रियाकलापमा विशेष अर्थ राख्दछ । भएको पैसा समेत बजारमा नआई आर्थिक क्रियाकलापमा नकारात्मक प्रभाव परी आर्थिक चलायमान कम गर्दै बजारलाई थप मन्दीमा ल्याउने कार्य गर्दछ ।
हाल सबैको मुखबाट सुनिरहेका हुन्छौं, ‘देशको अर्थतन्त्र खतम भयो ।’ देश टाट पल्टँदैछ । तर मैले अर्थतन्त्र सुधार गर्न यो यो काम गरे भन्ने कुरा त परैको कुरा हो, अर्थतन्त्र यो यो कारणले बिग्रको हो र यसलाई सुधार गर्न यो यो उपायहरू छन् भनी कसैबाट पनि निष्पक्ष एवं यथार्थपरक सुझावहरू आउने गरेको देखिँदैन ।
अर्थतन्त्र खतम भयो भन्ने शब्दका पछाडि पनि विभिन्न अभीष्टहरू देखिन्छन् । यसमा इमान्दारिता र निष्पक्षता देखिंदैन । कुनै राजनीतिक दल आफू सरकारमा गयो भने अर्थतन्त्र खासै बिग्रेको छैन भन्ने र सरकारबाट बाहिरियो भने खतम भन्ने प्रवृत्ति त जनताले बुझेकै छन् । तर, अर्थशास्त्रीहरूले समेत सोही शैली अपनाएको देखिन्छ । विज्ञहरूको कर्तव्य जनतालाई निष्पक्ष रूपमा सूचना प्रदान गरी आफ्नो विज्ञता प्रकट गर्नुपर्नेमा उनीहरू समेत राजनीतिक स्वार्थबाट माथि उठ्न सकेको पाइँदैन ।