मुलुकको अर्थतन्त्रको सुधारका लागि चालिनुपर्ने कदमका विषयमा नेपाल उद्योग परिसङ्घले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गरेको छ । अर्थतन्त्र सुधारका लागि राजनीतिक दलहरुसँगको छलफललाई निरन्तरता दिएको परिसङ्घले आज राप्रपाका सांसद् र पदाधिकारीसँग भेट गरेको हो ।

छलफलमा परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले हाल उद्योगी व्यवसायीको मनोबल घटेको र अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताउनुभयो । लगानीयोग्य पुँजीको अभाव, निष्क्रिय कर्जामा भइरहेको वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजी क्षेत्रको मनोबल खस्किएकाले यसमा सुधार आवश्यक रहेको उहाँले बताउनुभयो ।

राप्रपाका अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले निजी क्षेत्र बलियो नभएसम्म रोजगारी नबढ्ने, अर्थतन्त्र बलियो हुँदैन भन्नेमा पार्टी स्पष्ट रहेको बताउँनुभयो । उहाँले अर्थतन्त्र सुधारका लागि स्पष्ट दृृष्टिकोण एवं सुझावका लागि परिसङ्घलाई धन्यवाद दिनुभयो । सांसदहरुले उच्च ब्याजदर, अर्थतन्त्र शिथिल, मागमा आएको सङ्कुचनको कारणबारे जिज्ञासा राख्नुभएको थियो ।रासस