नेपाल चिकित्सक सङ्घले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरेको छ । सरकार र सङ्घबीच आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको वार्तापछि छ बुँदे सहमति भएको र आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्काल स्थगित गरी आ–आफ्नो कार्य जिम्मेवारी सम्हाल्ने निर्णय भएको वार्ता टोलीमा सहभागी सङ्घका पूर्वअध्यक्ष डा मुक्तिराज श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सङ्घ चिकित्सकमाथि भएको आक्रमणको विरोधमा बहिरङ्ग सेवा बन्द गर्दै आन्दोलनमा उत्रिएको थियो । वार्तामा माघ २७ गते दिनको ४ः१५ बजे राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पताल अगाडि विशिष्ट व्यक्तिको सवारी सुरक्षा व्यवस्थापन गर्ने क्रममा भएको घटनाबारे वार्ता टोलीबीच छलफल भएको र घटनामा घाइते हुनुभएका चिकित्सकहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । सहमतिमा उक्त दिन घटेको घटनाको सम्बन्धमा सम्बन्धित सुरक्षाकर्मीलाई निलम्बन गरी छानबिन सुरु भइसकेकाले समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने र घाइते चिकित्सकको उपचारको व्यवस्था नेपाल सरकारले गर्ने उल्लेख छ ।