तामाङ सम्पदा मार्गअन्तर्गत गतलाङ क्षेत्रको भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकलाई स्थानीय कला र संस्कृतिको झलक देखाउन संस्कृतिक समूह तयार गरिएको छ । यस्ता समूहले पाहुनालाई स्थानीय परिकारका स्वाद तथा नाच दुबै पस्किने छन् होटल तथा पर्यटन व्यवसायी सङ्घ रसुवाका जिल्ला सचिव फुर्पुसिङ्गी तामाङका अनुसार पाहुनालाई समूहले गतलाङको रायोसाग, मुला, सिमी, फर्सी, आलु, सिस्नुजस्ता सागसब्जीको तरकारी अनि मकै, कोदो, फापर, जौँको पिठोबाट तयार परिकार तयार गर्नेछन् । साथै तामाङ संस्कृति पाहुनामाझ देखाउने छन् । यसका देखाउन १० देखि २० जना समूहमा नाचटोली तयार गरिएको उहाँले बताउनुभयो । आगन्तुक पाहुनाको बासस्थानका लागि ११ घरबास (होमस्टे) रहेको र घुमाउनका लागि स्थानीयस्तरमा पथप्रर्दशकसमेत तयार गरिएको बताइएको छ । समुद्र सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा अवस्थित गतलाङ गाउँमा शतप्रतिशत तामाङ समुदायको बसोबास रहेको र पर्यटन प्रवद्र्धनका लागि जिल्लास्तरको अनुरोध एवं समन्वयबाट विसं २०५७ मा तत्कालीन ग्रामीण गरिबी निवारणका लागि पर्यटन कार्यक्रम (टिआर पिएपी)ले तामाङ सम्पदामार्ग घोषणा गरेको थियो । स्याफ्रुबेँसीबाटै गतलाङ, चिलिमे, थुमन, टिमुरे खैदी, वृद्विम हुँदै लाङ्टाङसम्म तामाङ सम्पदामार्ग नामकरण गरेपश्चात त्यस क्षेत्रमा पर्यटकको ओहरदोहर हुन थालेको जिल्ला समन्वय समितिले जनाएको छ ।रासस