भक्तपुर नगरपालिका तेखापुखुमा रहेको जिल्लाकै उत्कृष्ट मध्येको एक मेधा माध्यमिक विद्यालयको आँगन र कक्षाकोठामा रहेका विद्यार्थी आज दिनभर शोकमा डुबेका छन् । विद्यालयको आँगनमा विद्यार्थीहरू खेलेको, नाचेको, दगुरेको, कक्षाकोठामा विद्यार्थीको चहलपहल आज केही देखिएन । नियमित झैँ पढ्न विद्यालय आएका विद्यार्थीहरू जब आफ्नै विद्यालयका प्रधानाध्यापक गङ्गाधर हाडाको विद्यालय आउँदै गर्दा बाटोमै निधन भएको खबर स्कुलमा पुग्यो, तब एकाएक सबै विद्यार्थी, शिक्षक स्तब्ध मात्रै भएनन्, रुवाबासी चल्यो । विद्यार्थी, शिक्षक, शिक्षिकाको आँखा रसायो । आज दिनभर सिङ्गो विद्यालय परिवार शोकमा डुब्यो । विद्यालय मात्रै होइन, आसपासका बासिन्दा, भक्तपुरका अधिकांश विद्यालयका प्रिन्सिपल, शिक्षक र यहाँका शिक्षासेवीको स्तब्ध भए । अस्पतालमा उहाँको अवस्था बुझ्न आउनेको निकै भीड चल्यो । सामाजिक सञ्जालमा उहाँको निधनको खबर फैलिएपछि यो सत्यतालाई पत्याउन निकै गाह्रो भएको शिक्षासेवी लक्ष्मी पाण्डेले बताउनुभयो ।