काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी सफाइको पाँच सय हप्ता नाघेको छ । यस अवधिमा सफाइ गरेर वाग्मतीबाट करिब २० हजार टन फोहर निकालिएको छ । विसं २०७२ जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफाइ गरिँदै आएको छ । साप्ताहिकरुपमा यसरी सफाइ गर्दा पनि अत्यधिक फोहर निकाल्ने गरिएको सफाइ महाअभियानले जनाएको छ । सफाइ महाअभियान सुरु भएको पाँच सय हप्ता पूरा हुँदा पनि वाग्मती पूर्णरुपमा सफा हुन सकेको छैन । सर्वसाधारणले वाग्मतीमा यसरी फोहर फाल्ने हो भने जति सफाइ गरे पनि कहिल्यै सफा बन्दैन । फोहर फाल्नेलाई जरिवाना गरिने व्यवस्था पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । महाअभियान सुरु भएको साढे सात वर्षमा करिब १५ लाख अभियानकर्मीले स्वयंसेवकका रूपमा वाग्मती नदीको फोहर सङ्कलन गरेका छन् । स्वतःस्फूर्तरुपमा स्वयंसेवी अभियानमा सहभागी हुँदैआएका छन् । सफाइमा संलग्नलाई विभिन्न आरोप लगाउने काम भइरहेको अभियानकर्मी राम साह बताउनुहुन्छ । सफाइ महाअभियान चलेपछि नदी किनारमा करिब १० हजारभन्दा बढी बिरुवा रोपिएको छ । वृक्षरोपणका कारण नदी किनारमा हरियाली छाएको छ । जागरणमूलक वाग्मती सफाइ महाअभियानबाट प्रभावित भएर मुलुकभर १०० भन्दा बढी स्थानमा सफाइ अभियान सुरु गरिएको छ । यसबाट नदीको सौन्दर्य बढेको साह बताउनुहुन्छ ।