कैलालीको चुरे गाउँपालिका–३ चित्रपुरका आधारभूत तहमा अध्ययनरत सोनिया धामी गायनमा निकै पोख्त हुनुहुन्छ । साथीहरुसंग माझमा कुरा गर्न हिच्किचाउने, लाजले मुख थुन्ने उहाँ अहिले निर्धक्कसँग विद्यालयमा हुने कार्यक्रममा भाग लिन थाल्नुभएको छ । गीत–सङ्गीतमा उहाँ विद्यालयकै अब्बल छात्राका रूपमा परिचित हुनुभएको छ । शिक्षामा कोभिड प्रतिकार्य कार्यक्रमअन्तर्गत टोल कक्षा सञ्चालन भएपछि विद्यार्थीको क्षमता अभिवृद्धि भएको छ । “कोरोना सङ्क्रमणका बेला विद्यालयको पढाइ प्रभावित हुँदै आएको थियो”, टोल शिक्षक दुर्गा मल्लले भन्नुभयो, “बालबालिका घरमा बस्नुपर्दा विद्यालयमा सिकेको कुरा बिर्सिसकेका थिए, टोल कक्षा सञ्चालन भएपछि बालबालिकाको पढ्ने, क्षमता प्रदर्शन गर्ने कार्यमा वृद्धि भएको छ ।” अडियो, भिडियो सुनेर कक्षामा बालबालिकाले पठनपाठनको कार्य गर्दै आएका छन् ।