काभ्रेको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकामा रेबिज रोगका कारण पशुचौपाया मर्न थालेपछि स्थानीयवासीलाई रेबिजविरुद्ध खोप दिएको छ । कुकुरको टोकाइले रेबिज सङ्क्रमणका कारण गत हप्तादेखि दुई गाउँमा गाई, खसी–बोकालगायत १६ पशुचौपाया मरेको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । कुकुरले टोकर मरेका गाई काटेर खाएपछि गाउँपालिकाको १ नं वडाको गोकुले र ८ नं वडास्थित घर्तीछापका ७० स्थानीयवासीलाई रेबिजविरुद्धको खोप दिइएको स्वास्थ्य शाखाका प्रमुख हरिसिं विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार मरेका पशुको मासु खाएको थप स्थानीयवासीको खोजीकार्य भइरहेको छ भने पशुचौपायालाई पनि खोप लगाउने काम सुरु गरिएको छ । उहाँका अनुसार हाल दुई गाउँका ३५ पशुलाई रेबिजविरुद्धको खोप लगाइएको छ । वडा नं १ का ४० र ८ का ३० स्थानीयवासीलाई रेविजविरुद्धको खोप लगाइएको हो । प्रारम्भिक चरणमा दुई वडाका पशुलाई खोप लगाउन चार सय भाइल खोप पुगेको शाखा प्रमुख विष्टले बताउनुभयो । रेबिज सङ्क्रमण फैलन नदिन गाउँपालिकाको स्वास्थ्य शाखा र कृषि तथा पशुपक्षी शाखाले हप्ता दिनदेखि निगरानीसँगै नियन्त्रणका हरसम्भव प्रयास गरिरहेको गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । उहाँका अनुसार गाउँमा चेतनामूलक ¥याली तथा स्थानीय विद्यालयमा दैनिक विशेष स्वास्थ्य कार्यक्रम सञ्चालन भइरहेको छ ।