सानो घर । सानै परिवार । आर्थिक अवस्था भने कमजोर । बिहान–बेलुकी हातमुख जोड्न ज्याला मजदुरीकै भर । घरमा उब्जाइएको कमाइले तीन महिना पनि धान्न मुस्किल । यी र यस्तै परिवारमा रहेकी तेह्रथुम छथर गाउँपालिका–५ ओख्रेकी वासुकला विश्वकर्माको पारिवार । विगत लामो समयसम्म गरिबीको पीडामा पिल्सिएको सो परिवारको राम्रो आम्दानीको स्रोत थिएन । गाउँमा जसोतसो साहुमहाजनको बनिबुतो गरेर चार जनाको परिवार गुजारा चलेको थियो । जीवनका सङ्घर्ष निकै कष्टकर नै थियो । कमाइ ल्याउने र पकाइ खानेमै सकस थियो उहाँको परिवारलाई । तर यतिबेला उहाँको दैनिकी फेरिएको छ । देउराली सोसाइटी र दलित सचेतना समाज ड्यासले सञ्चालन गरेको तालिममा सहभागी बन्नुभएको उहाँ यतिबेला व्यावसायिक अचार उत्पादनमा भ्याइनभ्याइ बन्दै आउनुभएको छ । हातमा सीप नहुँदा अरुकै घरमा ज्याला मजदुरी गर्दै आउनुभएकी घरमै सञ्चालन गरेको व्यवसायबाट आम्दानी लिन थाल्नुभएको छ । शारीरिकरूपमा समस्या रहेकी वासुकलालाई उद्योगमा काम गर्न बल नहुने भएकाले समस्या छैन । गत वर्षदेखि मात्र सुरु गरेको उहाँको उद्योगबाट उत्पादन भएको अचारको माग पनि बढ्दो छ । घरायसी प्रविधिबाट अग्र्यानिक उत्पादन गर्ने गर्नुभएको छ ।