नवलपरासी (बर्र्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकाले भौतिक पूर्वाधार विकास योजना बनाउने भएको छ । चालु आव २०७९÷०८० देखि लागू हुने गरी पञ्च वर्षीय भौतिक पूर्वाधार विकास योजना बनाउन लागिएको गाउँपालिकाले जनाएको छ । परामर्शदाता कम्पनी छनोट गरी योजना निर्माणको काम अघि बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले जानकारी दिनुभयो । परामर्शदाता कम्पनीले गाउँपालिकाको समग्र वस्तुस्थितिको अध्ययनपश्चात् खाका तयार गरी अहिले सरोकारवालासँग आवश्यक छलफल र सुझाव सङ्कलन गरिररहेको उहाँले बताउनुभयो । योजना निर्माणको लागि जियो सर्भिस नेपाल परामर्श सेन्टर ललितपुर छनोट भएको छ । परामर्शदाता कम्पनीले निर्माण गरेको प्रारम्भिक खाकाको विषयमा गाउँपालिकाका प्राविधिक कर्मचारीसँग छलफल तथा सुझाव सङ्कलन गरिएको छ । क्रमशः जनप्रतिनिधि र अन्य विज्ञ समूहसँग छलफल गरी प्राप्त सुझावलाई समावेश गरी अन्तिम प्रतिवेदन पालिकालाई बुझाउने उक्त परामर्श सेन्टरले जनाएको छ ।