यही मङ्सिर १५ गते साँझ दलदलेबाट डेढगाउँका लागि छुटेको जिप धौबादी नजिक दुर्घटनामा पर्यो । दुर्घटनामा परेर चार जनाले ज्यान गुमाए । दशजना घाइते भए । गत कात्तिक १५ गते बुलिङटारमा भएको सवारी दुर्घटनामा पाँच जनाले ज्यान गुमाए । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा बर्सेनि यस्ता दुर्घटना हुने गरेका छन् । जसबाट जनधनको क्षति हुने गरेको छ । पहाडी क्षेत्र जाने जीर्ण सडकका कारण पहाडी क्षेत्रका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । एकातर्फ जीर्ण सडक त्यसमाथि सीमित सवारी साधन सञ्चालन हुँदा हुने ओभर लोडका कारण यात्रा जोखिम पूर्ण हुने गरेको छ । “बाटो सारै खराब छ, त्यस माथि सीमित सवारी चल्दा जिपमा यात्रुको चाँप धेरै हुन्छ, डर मानी मानी यात्रा गर्नुपर्ने पहाडका बासिन्दाको बाध्यता बनेको छ”, बौदीकालीका स्थानीय गेसबहादुर रानाले भन्नुभयो । जिल्लाको पहाडी क्षेत्र बुलीङ्गटार, पोखरी, रुचाङ्ग, नरम, डेढगाँउ, रनतपुर, डाँडाझेरी, हुप्सेकोट, कोटथरलगायतका बासिन्दा ज्यानकै जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । राजमार्ग क्षेत्र गैँडाकोटदेखि दुम्किबाससम्मका बजार क्षेत्रबाट जिल्लाका पहाडी क्षेत्रमा जिप छुट्छन् । राजमार्गदेखि उत्तरतर्फका पहाडी क्षेत्रतर्फ जाने ग्रामीण सडकको अवस्था जीर्ण छ । त्यस माथि सवारीमा यात्रुको चाप धेरै हुँदा यात्रा कष्टकर मात्रै नभई जोखिमपूर्ण हुने गरको बुलिङटारका स्थानीय पूर्ण थापाले गुनासो गर्नुभयो ।