लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा प्रदेशसभा भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राप्ती गाउँपालिका–३ लालमटियामा प्रदेशसभा भवन निर्माण कार्य भइरहेको छ । “पूर्वाधार निर्माणको काम लगभग अन्तिम चरणमा पुगेको छ”, प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले भन्नुभयो, “अब अन्य सानातिना काम बाँकी छन् ।” प्रदेशसभा भवनको भित्रको काम सबै पूरा भइसकेको छ भने बाहिर इन्टरलक लगाउने काम बाँकी छ । त्यस्तै गार्ड हाउसको ढलान भइसकेकाले त्यो पनि अन्तिम चरणमा पुगेको इन्जिनियर केसीले बताउनुभयो । त्यो काम पनि केही दिनमै सकिने उहाँको भनाइ छ । नवनिर्वाचित प्रदेशसभा सदस्यले भालुवाङस्थित नयाँ भवनमा शपथ खाने तयारी गरेको भन्दै त्यसका लागि अन्य तयारीका काम पनि धमाधम भइरहेका छन् । विद्युत् जोड्ने काम पनि भएको छ । रङरोगन, एसी राख्ने, टेबल, कुर्सी, कार्पेट बिछ्याउने काम पनि भइरहेको छ । त्यो सबै जिम्मा प्रदेशसभाले लिएको छ । प्रदेशसभा भवन रु एक अर्ब २० करोड लगानीको हो । उक्त भवन वाइवी स्टोन बिल्डर्स प्रालिले निर्माणको जिम्मा पाएको छ । प्रदेशसभा भवनमा सभाहलसँगै भिआइपी कोठा, भोटिङ कोठा, मर्यादापालकका लागि गरी १४ वटा कोठा बनेका छन् ।