म्याग्दीमा बसोबास गर्दैआएको अल्पसङ्ख्यक छन्त्याल समुदायको लिपि लोप भएपछि भाषा सङ्कटमा परेको छ । छन्त्याल समुदायका युवा पुस्ताले आफ्नो मौलिक भाषा र लिपि सिक्न तथा संरक्षण गर्न नसक्दा लिपि लोप भएको हो । छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसकेपछि लोप हुने अवस्थामा पुगेको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका ८३ वर्षीय युबहादुर छन्त्यालले बताउनुभयो । उहाँका अनुसार बूढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेका छन् । लिपि र शब्दकोश प्राप्त गर्न नसक्नु, आधुनिकताको प्रभावका कारण नयाँ पुस्ताले आफ्नो मातृभाषा प्रयोग गर्न सङ्कोच मान्नु, बसाइँसराइलगायत कारणले भाषा लोप हुन थालेको उहाँको भनाइ छ । “भाषा जानेका र बोल्न रुचि राख्ने बूढापाका मेटिँदै गए । युवापुस्ता आफ्नो पुख्र्यौली पेसा छोडेर विदेश वा सहरमा बसाइँ सरेको छ । उनीहरुले आफ्नो भाषा बोल्न छाडे”, छन्त्यालको बाहुल्यता रहेको गुर्जाका कमल छन्त्यालले भन्नुभयो, “लिपि र शब्दकोशसमेत नभएकाले पुराना पुस्तासँगै छन्त्याल भाषा पनि नासिने खतरा छ ।”