भैरहवावासीले मुस्ताङको उत्पादन भैरहवामै पाएका छन् । मुस्ताङका तरकारी तथा फलफूलबाट तयार पारिएका सामग्री भैरहवमामै बिक्री भइरहेका छन् । शुक्रबारदेखि सुरु भएको आठौँ लुम्बिनी राष्ट्रिय महोत्सवमा मुस्ताङको उत्पादन पनि बिक्रीका लागि राखिएको छ । मुस्ताङकै तरकारी र फलफूल प्रशोधन स्याउको सुकुटी, जाम, क्यान्डी, आलु चिप्स, खुर्पानीको जाम, सुकुटी जस्ता विभिन्न उत्पादनहरु बिक्रीका लागि राखिएका छन् । भैरहवा मेलामा मार्फा फलफूल तथा तरकारी उद्योगको स्टल रहेको छ । स्टल सञ्चालक घरपझोङ्ग–२ मार्फाका शङ्करलाल विश्वकर्माले सुरुकै दिनदेखि दर्शकको राम्रो प्रतिक्रिया पाएको बताउनुभयो । “भैरहवामा पहिलो पटक मुस्ताङको उत्पादन लिएर आएको छु”, विश्वकर्माले भन्नुभयो, “पहिलो दिनमै ६ हजार बढीको बिक्री भएको छ ।” कोभिडका कारण लामो समयदेखि बाहिर व्यापार गर्न नपाएका उहाले भैरहवा मेलाले उत्साह जागेको बताउनुभयो । उहाँले मेला अवधिमा रु एक लाख बराबरको कारोबार गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँको स्टलमा मार्फाको ब्रान्डी, रातो मुरली मकै, जिम्मु, जाम, छोप, स्याउ जस्ता उत्पादन रहेको छ