कालीकोटको पचालझरना गाउँपालिका–८ को मय गाउँ पहिराको जोखिममा परेको छ । गाउँको जमिन भासिँदै जाँदा मय गाउँ सुक्खा पहिराको जोखिममा परेको हो । पानी नपरेका बेला पनि जमिन भासिँदै गएकाले मय गाउँका ३२ घरधुरी सुक्खा पहिराको जोखिममा परेका छन् । मय गाउँमा चार दिनदेखि खाली जमिन भासिँदै गएको र नयाँ तथा पुराना घरका पर्खाल फाट्न थालेको पचालझरना गाउँपालिकाका पूर्वध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो । “तल पहिरो वा सडक केही पनि छैन, पानी पनि परेको छैन, तर जमिन भासिँदै जाँदा ३२ घरधुरी जोखिम बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “नयाँ बनेका घरकासमेत पर्खालमा दुई भागमा चिरा परेका छन् ।” मय गाउँमा जमिन भासिँदै गएको खबर आएको र त्यहाँ बसोबास गर्नेलाई अन्य ठाउँमा बस्ती सार्न भनिएको इलाका प्रहरी कार्यालय पचालझरनाका प्रहरी प्रमुख जनक भण्डारीले जानकारी दिनुभयो । “गाउँमा जमिन भासिँदै गएको र पहिराको जोखिम बढ्दै गएको खबर पाएका छौँ”, उहाँले भन्नुभयो, “त्यहाँका स्थानीय अगुवा तथा प्रहरी गएर बस्ती सुरक्षित स्थानमा सार्न भनिएको छ ।”