कर्णालीमा सहज हवाई यातायात नभएको भन्दै अनलाइन टिकटको व्यवस्था गर्न माग गरिएको छ । दुर्गम हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकको सहज यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू हुनुपर्ने माग गरिएको हो । जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्गमका नागरिकको हवाई यातायातको समस्या सम्बोधनका निम्ति आवश्यक पहलका लागि गृह मन्त्रालयलगायत निकायलाई अनुरोध गरिएको बताउनुभयो । “गमगढीसम्म सडक जोडिए पनि भौगोलिक विकटता र जीर्ण सडकले यातायात नियमित र व्यावसायिक हुन सकेको छैन”, उहाँले भन्नुभयो, “यहाँका बिरामी, अशक्त, महिला, बालबालिका र ज्येष्ठ नागरिकसहित रारा आउने पर्यटकका लागि यातायातको एकमात्र विकल्प हवाई यातायात हो ।” यसमा अनलाइन टिकटको व्यवस्था नहुँदा कालोबजारी बढ्नाका साथै टिकट लिनका लागि अनावश्यक भिडभाड र झैझगडा हुँदा शान्तिसुरक्षा प्रदान गर्नसमेत चुनौती थपिएको उहाँले बताउनुभयो ।