मेलम्ची बजारमा पक्की घर तथा सुविधासम्पन्न होटल निर्माणले आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बाक्लिँदै गएको थियो । मेलम्ची, हेलम्बु तथा पाँचपोखरी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मेलम्ची बजारमा सानाठूला गरी दर्जन होटल बनेका थिए । करोडदेखि साना लगानीमा बनेका होटल मेलम्चीमा सञ्चालन भइरहेका थिए । विसं २०७२ को भूकम्पपछि लय समातेको होटल व्यवसाय २०७८ असार १ पछिको बाढीले तहसनहस बनायो । हेलम्बुका खोला किनारामा रहेका अधिकांश होटल तथा रिसोर्ट बालुवामा बिलाए । मेलम्ची क्षेत्रमा रहेका केही बगे भने पुरिएका केही होटल जसोतसो सञ्चालकले आफैँ बचाएर सफा गरी अहिले सञ्चालन गरिरहेका छन् । आन्तरिक तथा बाह्य पर्यटकले राम्रै चहलपहल हुने मेलम्ची, हेलम्बु र पाँचपोखरीका होटल फेरि सुनसान जस्तै देखिन थालेका छन् । पर्यटकीयस्थल हेलम्बु, मेलम्चीको मुहान, पाल्चोक मन्दिर, पाँचपोखरी, इन्द्रावती तथा मेलम्ची घुम्न आउने पर्यटकको सङ्ख्या अहिले कम भएको स्थानीय होटल व्यवसायी रत्न श्रेष्ठ बताउनुहुन्छ ।