चीनले अघिसारेको विकास–निर्माणको विशाल परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ साउदी अरबको आर्थिक–सामाजिक विकासका निम्ति उपयोगी हुने बताएको छ । साथै उसले आफ्नो देशको ‘भिजन २०३०’लाई अघि बढाउन तथा उन्नत विज्ञान र प्रविधिबीच तालमेल मिलाउन चिनियाँ परियोजना फलदायी हुने विश्वास व्यक्त गरेको छ । साउदीका उद्योग तथा खनिज सम्पदामन्त्री बन्दर अल्खोरायफले सिन्ह्वासँगको अन्तर्वार्तामा अर्थतन्त्र र व्यापारका क्षेत्रमा दुई देशबीचको सहकार्य एवम् साझेदारीको महत्वमा जोड दिँदै प्रचुर मात्रामा खनिज सम्पदा भएको आफ्नो देश र नवप्रवर्तन तथा उच्च प्रविधिको विकासमा अग्रपङ्क्तिमा रहेको चीनसँगको सहकार्यबाट खनिज स्रोतको विकासमा सघाउ पुग्ने बताए । दुवै मुलुकको साझेदारीबाट खनिजको अधिकतम दोहनका साथै अर्थव्यवस्थामा विविधीकरण, अर्धतयार वस्तुको उत्पादन, प्रशोधन एवम् निर्यात बढाउन सहज हुनेमा उनले जोड दिए । चिनियाँ कम्पनीहरूको प्रभावशाली प्रदर्शन र अनुभवलाई आफ्नो देशका युवा तथा महिलामा हस्तान्तरण गर्नसके पारस्परिक लाभका धेरै क्षेत्रमा सहकार्य बढ्नसक्ने बताए । साथै उनले द्विपक्षीय सहयोग प्रवद्र्धन अथाह सम्भावना रहेका बताए । ऊर्जा र खानी उद्योग बाहेक अनुपम भौगोलिक अवस्थिति एवम् पूर्ण पूर्वाधार भएको साउदी अरबमा फस्टाउँदै गरेको ‘स्टार्टअप’मा लगानी गरेर मध्यपूर्व र उत्तर अफ्रिकामा व्यापार विस्तार गर्ने महत्वपूर्ण केन्द्र बनाउन सकिने भन्दै उनले आफ्नो देशको रेलमार्ग, बन्दरगाह र एक्सप्रेसवे निर्माणमा सहभागी हुन आह्वान गरे ।