देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखराको लेकसाइडमा २४औँ संस्करणको सडक महोत्सवको तयारी गरिएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराले अङ्ग्रेजी नयाँ वर्षको स्वागतार्थ सडक महोत्सव गर्न लागेको हो । यहाँको पर्यटन प्रवर्द्धनमा बेग्लै पहिचान बनाउने विश्वास आयोजकको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई ‘अङ्ग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’का रुपमा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी पुस १३ देखि १७ सम्म पोखराको लेकसाइडको फिस्टेल गेटदेखि खहरे हुँदै जरेवरसम्मको तीन किमी क्षेत्रमा महोत्सव हुने रेवानका अध्यक्ष एवं महोत्सवका संयोजक नरेश भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोना महामारीबाट सुस्ताएको पर्यटन विस्तारै लयमा फर्किन थालेको छ, मौसम खुलेको छ, हिमाल हाँसेका छन्, पर्यटक लोभ्याउने यस मौसममा पर्यटनमैत्री वातावरणमा महोत्सव सम्पन्न गर्न तयारीमा जुटेका छौँ ।” महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत, झाँकी प्रदर्शन, कन्सर्ट, बोट रेस, भेट्रान टेनिस प्रतियोगिता, ‘वेटर रेस’, ‘टग अफ वार’ र पोखराका प्रमुख गन्तव्यसहितको वृत्तचित्र प्रर्दशन गरिनेछ । महोत्सवमा छिमेकी देश भारतको पनि सांस्कृतिक कार्यक्रम रहने महोत्सवका सहसंयोजक वैभव पौडेलले बताउनुभयो ।