पाल्पाको रामपुर नगरपालिकामा सार्वजनिक जग्गा संरक्षण अभियान सुरु भएको छ । सार्वजनिक जग्गा ओगटेर बनाइएका संरचना हटाएर जग्गा संरक्षणमा यहाँका जनप्रतिनिधि, राजनीतिक दललगायतका सरोकारवाला निकायले जोड दिएका छन् । सार्वजनिक जग्गा संरक्षण तथा बाल खेल संसार अभियानका संयोजक कृष्णप्रसाद पौडेलले सार्वजनिक जग्गा संरक्षण गरेर सो जग्गामा बाल उद्यान तयार पार्ने अभियान रामपुरबाट सुरु गरिएको बताउनुहुन्छ । “रामपुरमा विभिन्न स्थानमा सार्वजनिक जग्गा ओगटेर घर, भवन, टहरा बनेका थुप्रै संरचना छन्, ती संरचनालाई हटाएर बालबालिकाको शारीरिक तथा मानसिक विकास गराउन, उनीहरूलाई रमाउने, खेल्ने वातावरण सिर्जना गर्न सार्वजनिक जग्गामा बाल उद्यान तयार पार्नु पर्नेछ, यसलाई अभियानका रूपमा हामीले अगाडि बढाएका छौँ”, उहाँले भन्नुभयो । सो अभियानलाई पाल्पाको रामपुरबाट सुरु गर्ने र यसलाई स्थानीय सरकारको समन्वयमा व्यक्तिले निजी प्रयोजनका लागि ओगटेका जग्गा हटाएर बाल उद्यान तयार पार्ने सम्बन्धमा जनप्रतिनिधि, स्थानीय सरकार, प्रशासन, राजनीतिक दल, समाजका अगुवासमक्ष राय–सुझाव लिएर अगाडि बढेको अभियानका संयोजक पौड्यालले बताउनुभयो ।