कालीकोटको थिप्पु गाउँपालिका–१ घोचापावाडाका ५५ वर्षीय राजबहादुर रोकाया काँधमा जडीबुटी राखिएको झोला बोक्दै कञ्चनपुरका गाउँ सहर चहार्दै हिँडनुहुन्छ । झोला बोकेर हिँडनु उहाँका लागि रहर नभएर बाध्यता छ । पाँच जनाको परिवारको खर्च धान्नका लागि तीन वर्षदेखि उहाँले जडीबुटी बेच्ने कार्यमा संलग्न रहँदै आउनुभएको छ । “हिमाली जिल्लाबाट जडीबुटी खरिद गरेर ल्याएर पहिला भारतमा बेच्थे”, उहाँले भन्नुभयो, “कोरोना महामारी फैलिएपछि दुई वर्ष जति भयो, भारतमा जस्तै यहाँ जडीबुटीको व्यापारमा लागेको छु ।” भारतमा हुँदा उहाँले दैनिक दुई हजार भारतीय रुपैयाँ जतिको कमाइ गर्नुहुन्थ्यो । भारतमा कोरोना महामारी फैलिएपछि घर फर्केपछि उहाँको कमाइ घटेको छ । दैनिक उहाँले हाल रु पाँच सयदेखि रु एक हजारसम्म मात्रै कमाइ गर्दै आउनुभएको छ । “व्यापारमा कमाइको कुनै ग्यारेण्टी हुँदैन”, उहाँ भन्नुहुन्छ, “व्यापार भनेको जुवाजस्तै हो, नसिव भए कमाइ हुन्छ, नभए हुँदैन, कुनै दिन धेरै हुन्छ, कुनै दिन केही पनि हुँदैन ।” आज कमाइ भएन भनेर मन मार्नु हुँदैन, ग्राहकलाई आफूले ल्याएको जडीबुटीबारे जानकारी दिन सके, मन जित्न सके व्यापार नहुने कुरै छैन, त्यसका लागि धैर्य गर्नुपर्ने उहाँ बताउनुहुन्छ । जुम्लाबाट उहाँले तितो, कटुको, गदानो, पदमचाल, हिंग, सिलाजित, कालो नुन, सतुवा र जडीबुटी तेल ल्याएर रोकायाले बेच्दै आउनुभएको छ । जडीबुटीकै व्यापारबाट पाँच छोरा, दुई छोरीको घरको पूरै खर्च व्यहोर्दै आएको उहाँ बताउनुहुन्छ । “जडीबुटीकै व्यापारबाट दुई जना छोराललाई पढाउँदै छु”, उहाँले भन्नुभयो, “दुई जना प्रहरीमा भर्ती भएर जागीरमा लागेका छन्, एक जनाले कपडाको व्यापार गर्छन्, छोरीको पढाइ खर्च जडीबुटीकै कमाइबाट पूर्ति भइरहेको छ ।”