रुपन्देहीको सिद्धार्थनगरस्थित भीम अस्पतालको सेवामा उल्लेखनीय सुधार देखिएको छ । नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदन्ड (एमएसएस) को लागि गठित समितिको एक वर्षको अवधिमा विभिन्न सूचाङ्कको आधारमा गरिएको मूल्याङ्कनबाट अस्पतालको सेवा प्रवाहको गुणस्तरीयतामा उल्लेखनीय सुधार देखिएको हो । एमएसएसले सरकारी अस्पतालको गुणस्तरीयता मापन गर्ने गर्दछ । भैरहवामा सार्वजनिक गरिएको तथ्याङ्कमा भीम अस्पतालको सेवा प्रवाहको गुणस्तरीयता अब्बल देखाइएको हो । स्वास्थ्य मन्त्रालयले ५० शय्या क्षमता भएका अस्पताललाई क वर्गमा स्तरीकरण गरी प्रदेश सरकार मातहत राख्ने गरेको छ । सोहीअनुसार क वर्गमा रहेका लुम्बिनी प्रदेशका १२ अस्पतालमध्ये भीम अस्पताल एमएसएसको मूल्याङ्कनमा दोस्रो नम्बरमा परेको हो । एमएसएस मूल्याङ्कन समितिका संयोजकसमेत रहेका स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक डा विनोद गिरीले भन्नुभयो, “भीम अस्पतालले विगत एक वर्षको तुलनामा आफूलाई अत्यन्तै सुधारेको एमएसएसबाट देखिएको छ ।” एमएसएस लुम्बिनी प्रदेशका फोकल पर्सन कौशल भन्डारीका अनुसार लुम्बिनी प्रदेशमा एमएसएस मूल्याङ्कनको सय अङ्कमा ९५ अङ्क प्राप्त गरी बर्दिया अस्पताल पहिलो, ८८ अङ्क प्राप्त गरी भीम अस्पताल दोस्रो भएका हुन् । यसैगरी नेपालभरीका क वर्गका अस्पतालको मूल्याङ्कनमा भीम अस्पताल पाँचौँ भएको छ । एक वर्ष अगाडिसम्म एमएसएसमा ५६ अङ्क प्राप्त गरेको यस अस्पतालले एक वर्षमा आफूलाई सुधारेर ८८ अङ्कमा पु¥याउनुमा सबै पक्षीय सहयोग र सहकार्यले सम्भव भएको अस्पताल विकास समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीले बताउनुभयो ।