दुर्गम मानिने बाँकेको नरैनापुर गाउँपालिकाका स्थानीय विकासको मूल प्रवाहमा आउन सकेका छैनन् । सडक पूर्वाधार विकास भए पनि यहाँ साक्षरताको अभावले स्थानीय परम्परागत मान्यता र विश्वासका आधारमा जीविकोपार्जन गरिरहेका छन् । कृषि र पशुपालनलाई प्रमुख पेशा बनाएका उनीहरूको आम्दानीको कुनै दरिलो स्रोत छैन । खरले निर्माण भएका फुसका घर र बालबालिका धुलाम्मे भएर खेलिरहेको दृश्यले यो स्थानमा सरकार भएको वा नभएको कुनै अनूभुति हुँदैन । स्थानीय सरकार विगतको तुलनामा अहिले विकासले गति लिएको जिकिर गरिरहेको छ । नरैनापुर–५ मटहैयाका विनय दीक्षितले अहिले नरैनापुर आउन भारतीय सडकको प्रयोग गर्ने अवस्थाको अन्त्य भएको उल्लेख गर्दै साक्षरताको अभावले यहाँको विकासले गति लिन नसकेको जानकारी दिनुभयो । स्थानीय सरकार निर्माण भए पनि प्रभावकारीरूपमा काम गर्न नसेकेको गुनासो गर्दै उहाँले अनुत्पादक ठाउँमा स्थानीय सरकारले बजेट खर्च गरेको आरोप लगाउनुभयो । दीक्षितले भन्नुभयो, “धार्मिकस्थलमा बढी बजेट खर्च भएको छ, त्यसले परिणाम दिएको छैन ।” नगदे बालीका रूपमा उखुखेती र फलफूल खेती गरेर पनि स्थानीयवासीले आम्दानीको स्रोत बढाउन सक्ने बताइएको छ ।