आज यःमरि पूर्णिमा (थिंला पुन्हि)को दिन हो । यो पर्व विशेषतः नेवार समुदायमा प्रख्यात छ । वर्षभरिको १२ पूर्णिमामध्ये मङ्सिर महिना अर्थात् मार्गशुक्ल पूर्णिमालाई यःमरि पुन्हि भन्ने गरिएको हो । धेरै पहिला ‘पाञ्चाल देश’ भन्ने एउटा ठाउँ थियो जो अहिले काभ्रेपलाञ्चोकको पनौती हो । लिच्छविकालीन ग्रन्थअनुसार ‘महासत्व’ नाम गरेका एक राजकुमारले जङ्गलमा भोकाएका बघिनी र केही डमरू देखेपछि आफ्नै शरीरको मासु खुवाएका थिए । उनै राजकुमार महासत्वका कङ्काल र लुगा पुरेर उक्त स्थानमा एउटा चैत्य निर्माण गरिएको छ । त्यस स्थानलाई अहिले ‘नमोबुद्ध’ भनिन्छ । ‘पाञ्चाल देश’ अर्थात् पनौतीमै महासत्वको जन्म भएको मान्दै प्रत्येक वर्ष भाद्रकृष्ण त्रयोदशीका दिन यहाँ नमोबुद्धको जात्रा पनि लाग्ने गर्दछ । लिच्छविकालीन ग्रन्थमा समेटिएको घटनाक्रमअनुसार यःमरि पूर्णिमा (थिंला पुन्हि)को प्रचलन पनौतीबाट सुरुआत भएको मान्दै आइएको स्थानीय वृद्ध बताउँछन् । उतिबेलाको पाञ्चालदेशको महासत्व राजकुमार र सुचन्द्र नाम गरेका महाजनको कथाले यःमरिको प्रचलन पनौतीबाट भएको पुष्टि गर्न सकिने स्थानीय राजाराम कर्माचार्य बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पाञ्चालदेशको महासत्व राजकुमार र सुचन्द्र नाम गरेका महाजनको कथाले यःमरिको प्रचलन सुरुआत पनौतीबाट भएको विश्वास गर्दै आएको हौँ ।”