प्रकृति पूजक भनेर चिनिने किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उधौली’ आजदेखि सुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली चाड मनाउने चलन छ । पन्ध्र दिनसम्म मनाइने उधौली साकेलाको अवसरमा मझुवागढीमा भेला भएर किराँती पुर्खा÷धामीहरूले प्रकृतिको पूजा आराधना गरी उधौली चाडको सुरुआत गर्ने तयारी गरेको किराँत राई यायोख्खा खोटाङका सचिव जीवन नाछिरिङले बताउनुभयो । किराँत ऐतिहासिकस्थल मझुवागढीमा पूजाआजा गरेर औपचारिकरूपमा सुरु गरिने साकेला उभौलीको अवसरमा जिल्लाका विभिन्न ठाउँमा औपचारिक कार्यक्रमसमेत राखिएको किराँत राई यायोख्खाले जनाएको छ । वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायतका सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत राईहरूले बताएका छन् । साकेला उधौलीको अवसर पारेर जिल्लाका ऐतिहासिक तथा पर्यटकीयस्थल तुवाचुङ–हलेसी तुवाचुङ नगरपालिकाको जायाजुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको रुपाकोट, मझुवागढी र मेरुङ, जन्तेढुङ्गाको गाउँपालिकाको जन्तेढुङ्गा र छोङ्खा, खोटेहाङ गाउँपालिकाको कपासे भञ्ज्याङलगायत साकेला थानमा साकेला सिली नाच्ने चलन छ । उधौली र उभौलीमा किराँत राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ ।