कञ्चनपुरमा पछिल्ला केही वर्षयता जङ्गली हात्तीकोे आक्रमण बढ्दो छ । बर्सेनि जङ्गली हात्तीको आक्रमणबाट मानिसको ज्यान जानुका साथै अन्नबाली र घरखेतमा समेत नोक्सानी पुग्ने गरेको छ । जङ्गल नजिकै मावन बस्ती भएकाले हरेक वर्ष हात्तीको आक्रमणबाट मानवीय क्षति हुने गरेको छ । मङ्गलबार साँझ बेदकोट नगरपालिका–१ स्थित हात्तीथलाका हीरादेवी धानुकको हात्तीको आक्रमणमा परी मृत्यु भयो । घर नजिकैको साुमदायिक वनमा दाउरा लिन गएका बेला उहाँमाथि हात्तीले आक्रमण गरेको हो । गत भदौमा पनि शुक्लाफाँटा नगरपालिका–७ की २२ वर्षीया मीना जोशीको खेतमा काम गरिरहेका बेला हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तथ्याङ्कानुसार जङ्गली हात्तीको आक्रमणबाट तीन वर्षको अवधिमा सात जनाले ज्यान गुमाएका छन् । निकुञ्ज कार्यालयका अनुसार विसं २०७७ मा दोधारा चाँदनी नगरपालिका–२ स्थित मायापुरी मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका दुई महिलाको हात्तीको आक्रमणबाट मृत्यु भयो । त्यसैगरी विसं २०७८ मा शुक्लफाँटा–१ बन्साहका एक पुरुष र एक महिलाको हात्तीको आक्रमणबाटै मृत्यु भयो । त्यसैगरी लालझाडी गाउँपालिका चान्देउका एक पुरुषको पनि हात्ती आक्रमणमा परी मृत्यु भयो ।