पचास शय्या विस्तारसँगै संरचना अभाव भएपछि छ वर्षअघि मेहलकुना अस्पतालको नयाँ भवन निर्माण सुरु गरिएको थियो । तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण सुरु गरिएको थियो । पचास शय्या क्षमतामा स्तरोन्नतिसहित निर्माणाधीन मेहलकुना अस्पतालको भवन निर्माणका लागि निर्माण कम्पनीले ठेक्का लिएको थियो । आव २०७३÷७४ मा रु २८ करोड लागत अनुमान गरिए पनि रु २१ करोड १६ लाखमा ठेक्का सम्झौता गरिएको थियो । हालसम्म भवनको ६० प्रतिशत मात्रै प्रगति भएको अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी कमल सुवेदीका अनुसार तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएको अस्पतालको भवन निर्माणकार्य भने अधुरो अवस्थामै छ । आव २०७६÷७७ मा भवन निर्माण सक्ने लक्ष्य लिइएको भए पनि अझै काम बाँकी नै छ । गुर्भाकोट नगरपालिकास्थित मेहलकुनामा निर्माणाधीन अस्पताल भवनमा पाँच ब्लक छन् । समयमै निर्माणकार्य नसकिएर योजना अलपत्र परेपछि अहिले चौतर्फी आलोचना र गुनासो बढेको छ । समयमै निर्माण नसकिँदा सेवा प्रवाहमै समस्या भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य बृखबहादुर नेपालीले बताउनुभयो ।