स्पेनको बार्सिलोना नजिकैको एक स्टेसनमा बुधबार एउटा रेल अर्को रेलको पछाडिको भागमा ठोक्किँदा १५० भन्दा बढी व्यक्ति सामान्य घाइते भएका सरकारी अधिकारी र स्पेनको रेन्फे रेल अपरेटरले बताएका छन् । एसईएम क्षेत्रीय आपतकालीन सेवाहरूका अनुसार बिस्तारै चलिरहेको रेल स्थानीय समय अनुसार बिहान ७ः५० बजे दुर्घटना भएको थियो । एसईएमले ट्वीटरमा भनेको छ, “१५५ जना सामान्य घाइते भएका छन्, जसमध्ये ३९ जनालाई स्थानीय स्वास्थ्य केन्द्र वा अस्पतालमा थप परीक्षणका लागि लगिएको छ ।” बार्सिलोनातर्फ जाँदै गरेको मोन्टकाडा इ रिक्साक–मान्रेसा स्टेसनमा दुई रेल आपसमा ठोक्किएका राज्य रेल अपरेटरका प्रवक्ताले एएफपीलाई बताउनुभयो । क्षेत्रीय दमकल सेवाका प्रवक्ताले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार बार्सिलोनाबाट करिब १० किलोमिटर उत्तरमा पर्ने मोन्टकाडा स्टेसनमा रोकिराखेको रेललाई अर्को रेलले ठक्कर दिएको थियो । आपतकालिन सेवाका अधिकारी जोन कार्लेस गोमेजले घटनास्थलमा रहेका पत्रकारहरुसँग भन्नुभयो, “रेल निकै बिस्तारै गुडिरहेको थियो तर अर्को रेलमा ठक्कर खाएपछि उभिएका मानिसहरु लडेर घाइते भएका छन् ।”