दार्चुलामा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेपछि दुवै देशका नागरिकबीच आइतबार दोहोरो झडप सिर्जना भएको थियो । बुधबार भारतको धार्चुलामा बसेको दुवै देशका प्रमुख सुरक्षा निकायको छलफलले भारतले एकतर्फी निर्माण गर्न लागेको ग्याबिन तटबन्ध तत्काल रोक्ने सहमति भएको छ । नेपालतर्फ मोडिएको नदीलाई पुनः आफ्नै धारमा फर्काइने सहमति भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो । उहाँका अनुसार विवादित क्षेत्रमा तत्काल काम पनि सुरु नगर्ने सहमति बनेको छ । भारतीय पक्षले एकतर्फी तटबन्ध निर्माण गरेपछि भएको विवाद समाधानका लागि नेपाल र भारतीय प्रशासनबीच आइतबार पनि जिल्ला प्रशासन कार्यालय दार्चुलामा छलफल भएको थियो । आज भएको छलफलमा १० दिनभित्र नदीलाई पुरानो स्थानमै फर्काउने गरी सहमति भएको हो । खलङ्गाका स्थानीयवासीको मागअनुसार नदीको बीचमा रहेका अस्थायी संरचना हटाउन भोलिदेखि १० दिनको समय दिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी राजेश शाहीले बताउनुभयो ।