इरानका पूर्वराष्ट्रपति मोहम्मद खातामीले महसा अमिनीको मृत्युपछि सुरु भएको विरोध आन्दोलनलाई समर्थन गर्दै यसको मुख्य नारा ‘महिला, जीवन र स्वतन्त्रता’ राम्रो भएको बताउनुभएको छ । इरानमा इस्लामिक शरिया कानूनमा आधारित हिजाब पहिरनको नियमलाई उल्लङ्घन गरेको आरोपमा पक्राउ परेकी अमिनीको मृत्यु भएपछि करिब तीन महिनादेखि विरोध प्रदर्शन भइरहेको छ । विरोध प्रदर्शनलाई नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका अधिकारीहरूले यसलाई इरानको प्रमुख विरोधी संयुक्त राज्य अमेरिका, बेलायत र इजरायलसहित उसका सहयोगीहरूले उक्साएको ‘दङ्गा’ को रूपमा वर्णन गरेका छन् । सन् १९९७ देखि २००५ सम्म इरानको राष्ट्रपतिको रूपमा काम गरेका तर वर्षौंदेखि संस्थापनपक्षबाट चुप लागेर बसेका सुधारवादी खातामीले आन्दोलनलाई समर्थन गर्दै आफ्नो अभिव्यक्ति दिनुभएको हो । प्रदर्शनमा सुनिएको ‘महिला, जीवन, स्वतन्त्रता’ भन्ने मुख्य नारालाई ७९ वर्षीय नेताले महिलाको स्वतन्त्र जीवनका लागि ‘सुन्दर सन्देश’ का रुपमा व्याख्या गर्नुभएको छ । विद्यार्थी दिवसको पूर्वसन्ध्यामा मङ्गलबार आईएसएनए समाचार संस्थालाई उद्धृत गर्दै उहाँले भन्नुभएको छ, “स्वतन्त्रता र सुरक्षा एकअर्काविरुद्ध राख्न हुँदैन ।” उहाँले भन्नुभयो, “सुरक्षा कायम गर्न स्वतन्त्रतालाई कुल्चिनु हुँदैन र स्वतन्त्रताका नाममा सुरक्षालाई नजरअन्दाज गर्नु हुँदैन ।”