साँझको बेला छ । कार्यालय बिदा भएर फर्किएका र हाटबजारमा किनमेल गरेर फर्किनेको भीड लागेको छ । सबैलाई दिनभरिको कामको भारी बिसाएर सुस्ताउन घर जाने हतार छ । यसैबेला राजविराजस्थित सहिद दशनचौकमा उभिएका एकदर्जन बढी स्वयंसेवी अधिकारकर्मीहरूले बाटो हिँड्ने महिला र किशोरीलाई डाक्दै हातहातमा स्यानिटरी प्याड थमाइरहेका छन् । किशोरीहरूले निसङ्कोच लिए पनि कतिपय महिला सार्वजनिक रुपमा प्याड लिन सङ्कोच मानिरहेका देखिन्छन् । उनीहरूलाई अधिकारकर्मीहरूले बोलाएर महिनावारी हुँदा प्रयोग गर्ने प्याडको प्रयोग र उपयोगिताबारे जानकारी दिन्छन् । महिनावारीसँग जोडेर कुनै पनि किसिमको छुवाछूत, विभेद, दुव्र्यवहार वा हिंसा गर्न नहुने र मर्यादापूर्वक जीउन पाउनुपर्ने अधिकारको वकालत गर्छन् । त्यसपछि बल्ल महिला प्याड लिँदै घरका लागि प्रस्थान गर्छन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत मूल समारोह समितिले राजविराजमा स्यानिटरी प्याड वितरण गरेर स्वयंसेवक दिवस मनाएको दृष्य हो यो । ‘स्वयं सेवामार्फत ऐक्यबद्धता’ नाराका साथ बाटो हिँड्ने महिला र किशोरीलाई प्याडको प्रयोग र उपयोगिताबारे जानकारी मात्र दिएनन् अधिकारकर्मीहरूले लैङ्गिक हिंसा नगर्न र हिंसा नसहन आग्रह गरे ।