सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौली, सिद्धार्थ टोलमा निर्माणाधीन अवस्थामा रहेको खानेपानी ट्याङ्की अलपत्र परेको छ । नेपाल सरकारको आर्थिक सहयोगमा मधेस प्रदेश सरकार र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय सर्लाहीको समन्वयमा निर्माणाधीन अवस्थामा रहेको रु आठ करोड एक लाख ५८ हजार चार सय १४ को खानेपानीको ओभरहेड ट्याङ्की निर्माणकै चरणमा अलपत्र परेको स्थानीय रामलाल महतोले बताउनुभयो । उहाँका अनुसार करिब पाँच हजार जनसङ्ख्यालाई शुद्ध पिउने पानी पु¥याउने लक्ष्यका साथ निर्माण सुरु भएको खानेपानीको ओभरहेड ट्याङ्की निर्माणकै चरणमा अलपत्र परेको हो । प्रदूषित क्षेत्रमा खानेपानीको ओभरहेड ट्याङ्की निर्माण गर्नु नै मुख्य समस्या रहेको हरिवन नगरपालिका–५ का राजेश महतोले बताउनुभयो । उहाँले इन्दु शङ्कर चिनी उद्योगबाट निस्केको प्रदूषित पानी सोही क्षेत्रमा लगेर छाडिएको र सोही क्षेत्रमा खानेपानी व्यवस्थापनको काम गर्दा आफूहरुले शुद्ध पिउने पानी नपाउने बताउनुभयो । हरिवन नगरपालिका–११ स्थित रहेको इन्दु शङ्कर चिनी उद्योगको प्रदूषित पानीको ढल निकास रहेको स्थान नजिकै खानेपानीको ओभरहेड ट्याङ्की निर्माण सुरु गरिएको र कसैसँग समन्वय नगरी निर्माण गरिँदा अलपत्र परेको स्थानीय शङ्कर महतोले बताउनुभयो । वडाध्यक्ष नागेन्द्र साह र निवर्तमान नगरप्रमुख गणेश प्रसाइँको मिलेमतोमा केही रकम हिनामिन गर्ने मनसायस्वरुप खोला किनारमा लगेर खानेपानीको ओभरहेड ट्याङ्की निर्माण गरिएको महतोको आरोप छ ।