एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर र राजमार्गमा पर्ने झलारी बजारको आधुनिक सडक निर्माण तीव्र गतिमा भइरहेको छ । सन् २०१५ मा सुदूरपश्चिमको कैलालीस्थित धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिका गरी चारवटा पालिकाका मुख्य सहरमा आधुनिक सडक निर्माणका लागि छनोट भएका थिए । सोही अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकाका सडक स्तरोन्नति, ढल व्यवस्थापनका साथै फोहरमैला प्रशोधन केन्द्रको निर्माण भइरहेको छ । सदरमुकाम महेन्द्रनगरका पाँचवटै गल्ली र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मूलगेटसम्म सडकलगायत ढल, साइकल लेनलगायतका संरचनाहरू निर्माणाधीन अवस्थामा रहेको निर्माणको जिम्मेवारी पाएको जेडआइइसी–लामा जेभीका इन्जिनियर भूपेन्द्र सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार महेन्द्रनगरमा एडिबीको सहयोगमा निर्मित आधुनिक सडकको ५५ देखि ६० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिनुभयो । योजनाअन्तर्गत बजार क्षेत्रको सडक स्तरोन्नतिका साथै निकुञ्जको मूलगेटसम्म नमूना सडक, सौर्य बत्ती जडान र पैदल मार्गलगायतका काम भइरहेका छन् । यहाँ साढे १४ किलोमिटर सडक कालोपत्र गर्नुपर्ने सम्झौताअनुरूप अहिले साढे आठ किलोमिटर कालोपत्र भइसकेको छ ।