मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाका राजा सुल्तान अब्दुल्लाह अहमद शाहसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको छ । क्वालालम्पुरस्थित राजदरबारमा आज आयोजित विशेष समारोहमा राजा सुल्तान अब्दुल्लाह समक्ष राजदूत पौडेलले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभएको नेपाली राजदूतावासले जनाएको छ । कार्यक्रममा राजा सुल्तान अब्दुल्लाहले मलेसियाका लागि राजदूत नियुक्त हुनुभएकोमा पौडेललाई बधाई दिनुभएको थियो । ओहोदाको प्रमाणपत्र पेस गर्ने क्रममा राजा अब्दुल्लाहसँग पौडेलले नेपाल तथा मलेसियाबीच रही आएको द्विपक्षीय सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो । सो अवसरमा द्विपक्षीय सम्बन्ध विस्तार र आपसी हितका बारेमा छलफल भएको थियो । राजदूत पौडेलले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफू लागि पर्ने प्रतिबद्धता जनाउनुभयो । राजदूत पौडेलले राजा सुल्तान अब्दुल्लाहलाई राष्ट्रपति विद्यादेवी भण्डारीको तर्फबाट शुभकामना सन्देश प्रकट गर्दै नेपाल भ्रमणको निमन्त्रणा गर्नुभयो । राजा सुल्तान अब्दुल्लाहले विश्वको सर्वोच्च शिखर सगरमाथा अवलोकनका लागि नेपाल भ्रमण गर्ने आफ्नो इच्छा रहेको बताउनुभयो ।