मङ्सिर ४ मा सम्पन्न निर्वाचनको प्रत्यक्षतर्फ सुदूरपश्चिम प्रदेशसभाका निवर्तमान दुई सदस्य प्रतिनिधिसभामा र चार सदस्य प्रदेशसभा सदस्यमा पुनःनिर्वाचित हुनुभएको छ । प्रदेशसभाका निवर्तमान चार सदस्य भने यसपटकको चुनावमा पराजित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित कांग्रेसका नेता डिल्लीराज पन्त यही मङ्सिर ४ मा सम्पन्न चुनावमा प्रदेशको राजधानीसमेत रहेको कैलाली निर्वाचन क्षेत्र–५ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का नेता एवं पूर्वमन्त्री नारदमुनी राना थारू हुनुहुन्थ्यो । विजयी पन्त यसअघिको निर्वाचनमा कैलाली–५ को (१)मा प्रत्यक्ष निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । एमालेबाट यसअघिको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित तारालामा तामाङ यसपटकको निर्वाचनमा कञ्चनपुर–१ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का बिना मगर हुनुहुन्थ्यो । तामाङ पार्टी विभाजनका बेला एमालेबाट नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेर निर्वाचनअघि पुनः एमालेमै फर्किनुभएको थियो । यसअघिको निर्वाचनमा तामाङ कञ्चनपुर–१ को प्रदेशसभामा निर्वाचित हुनुभएको थियो । एकीकृत समाजवादीका नेता एवं प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी पनि दोस्रोपटक कैलाली–४ को प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभयो । सोडारी पाटी विभाजनका बेला एकीकृत समाजवादीमा प्रवेश गरेर समाजवादी संसदीय दलको नेता हुनुभएको थियो ।