Skip to content
पोखरालाई विश्वसँग जोड्दै विमानस्थल
पोखरालाई विश्वसँग जोड्दै विमानस्थल : पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् । सञ्चालनमा आउन लागेको पोखराको नयाँ विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखरासँग विभिन्न मुलुकको प्रत्यक्ष सम्पर्क स्थापित हुनेछ । यसअघि काठमाडौँ भएर पोखरा आउने पर्यटक अब सिधै पोखरा झर्नसक्नेछन् । यसले पोखरामा विदेशी पर्यटकको आवगमन बढ्नुका साथै समग्र पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीहरुको भनाइ छ । नेपाल भ्रमण वर्ष २०११ का संयोजक समेत रहनुभएका होटल एसोसिएसन नेपाल (हान)का पूर्व अध्यक्ष पर्यटन व्यवसायी योगेन्द्र शाक्यले पोखरामा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु मुलुकको पर्यटन क्षेत्रका लागि सुखद् विषय भएको बताउनुभयो । “विमानस्थल पर्यटन पूर्वाधारमा अति आवश्यक मानिन्छ”, उहाँले भन्नुभयो, “हाम्रो जस्तो भूपरिवेष्ठित मुलुकलाई संसारसँग जोड्ने सबैभन्दा उपयुक्त माध्यम यही हो ।” उहाँले विमानस्थल निर्माण निकै राम्रो भए पनि विमानस्थलको प्रभावकारी सञ्चालनका लागि यात्रुको सङ्ख्या बढाउनुपर्नेमा जोड दिनुभयो । पश्चिमाञ्चल होटल व्यवसायी सङ्घका पूर्व अध्यक्षसमेत रहनुभएका व्यवसायी विप्लव पौडेलले पोखरा विमानस्थल सञ्चालनमा आएपछि पोखरा आउने स्वदेशी र विदेशी पर्यटक बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
Like this:
Like Loading...
Page load link