कैलालीको टीकापुर बजारलाई सुन्दर बनाउने परिकल्पनाअनुसार बजार क्षेत्रमा पक्की सडक निर्माण थालिए पनि समयमै नबन्दा नागरिकमा चिन्तित हुन थालेका छन् । एकातिर सडक नबन्ने चिन्ता अर्काेतर्फ सडकको धुलोले स्वास्थ्यमा असर पार्न थालेपछि स्थानीय बासिन्दा के गरौँ भन्न थालेका छन् । साढे तीन वर्षअघि निर्माण थालिएको बजार क्षेत्रको काममा ढिलाइ हुँदा नागरिकलाई हिँडडुलमा र धुलाले स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ । धुलोले बजार क्षेत्रका घर धुलाम्मे भएका छन् । बजारमा राखिएका कपडादेखि अन्य दैनिक प्रयोजनका सामग्रीमा असर परेको छ । धुलोकै कारण सर्वसाधारण बजार क्षेत्रमा आउन मान्दैनन् । सडक निर्माणको धुलोले नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको डाक्टर लालसिंह टमट्टाको भनाइ छ । “बजार क्षेत्रमा बिना मास्क हिँड्न सकिँदैन”, डाक्टर टमट्टाले भन्नुभयो, “धुलोका कारण खोकीका बिरामी बढेका छन् । यसले पछिसम्म स्वास्थ्यमा असर पार्छ ।” सघन सहरी विकास कार्यक्रमबाट टीकापुरमा निर्माणाधीन ब्लक ‘ए’का सडक कालोपत्र गर्ने काम समयमै नहँुदा नागरिकले सरकार र स्थानीय नेताप्रति आक्रोश व्यक्त गर्न थालेका छन् । दुई वर्षमा निर्माण गरिसक्नुपर्ने सडक आउँदो माघमा चार वर्ष पुग्दैछ । सडकमा ढुङ्गा, बालुवाका कारण यात्रा गर्न कठिन छ । “हिँड्ने मानिस धेरै लड्ने गरेका छन् । सवारी साधन साइकल, मोटरसाइकल र स्कुटी चलाउनेलाई पनि समस्या हुने गरेको छ”, स्थानीय लक्की शाहले भन्नुभयो, “म स्कुटीमा हिँड्छु, सडकमा बिच्छ्याइएको ढुङ्गाका कारण कठिन छ ।”